सेवा निवृत कर्मचारीहरुले आफ्ना अनुभव बाँड्नुपर्नेः प्रदेश प्रमुख कायस्थ

सेवा निवृत कर्मचारीहरुले आफ्ना अनुभव बाँड्नुपर्नेः प्रदेश प्रमुख कायस्थ

ब्रम्हानन्द ठाकुर ।
आसार १४, जनकपुरधाम । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सेवा निवृत कर्मचारीहरुले सेवा अवधिमा प्राप्त आफ्ना अनुभव, सिप र ज्ञानलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ ।

सेवा निवृत्त कर्मचारी परिषद जनकपुरको सोह्रौं साधारणसभा तथा रजत जयन्ती समारोहलाई उद्धघाटन गर्दै प्रदेश प्रमुख कायस्थले सेवा निवृत कर्मचारीहरुलाई उहाँहरुको सिप, ज्ञान र क्षमतालाई ज्ञापन पत्रका माध्ययमबाट सरकारलाई अघि बढ्न सल्लाह सुझाव दिनुपर्ने बताउनुभएको छ । सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख कायस्थले सेवा निवृत्त कर्मचारीहरुलाई अब फरक फरक विषयगत समिति बनाएर अगाडि बढ्न सुझाव समेत दिनुभएको छ ।

कायस्थले प्रदेश सरकार अहिले भूमि व्यवस्थापन, कृषि, शिक्षा र स्वास्थ्यमा नीति कार्यक्रममा बिभिन्न कार्यक्रम ल्याएको तर व्यवहारमा लागू गर्न सेवा निवृत्त कर्मचारीको सहयोग आवश्यक रहेको धारणा राख्नुभएको छ ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साहले कानुनको अभावमा प्रदेशको विकास गर्न कठिनाई भईरहेको बताउनुभएको छ ।

उहाँले नेपालको सँविधानमा अहिले पनि धेरै त्रुटि रहेको भन्दै मधेशवादी दलहरु सँशोधनका लागि दत्तचित भएर लागिपरेको जानकारी दिनुभयो । सेवा निवृत्त कर्मचारीको अनुभव र दक्षताबाट अहिलेका प्रदेश सरकार र स्थानिय सरकारले फाईदा लिन सके प्रदेश समृद्ध हुने उहाँले धारणा राख्नुभयो ।

अहिले प्रदेश २ सरकारले संघीय सरकारलाई वार्षिक ४ खर्व रुपैया दिएपनि संघीय सरकारले यस प्रदेशका ८ जिल्लाका लागि १४ अर्व रुपैया मात्र बिनियोजन गरेकोमा आपत्ति जनाउनुभयो ।

ई. रामचरित्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामेश्वर साहले सेवा निवृत्त कर्मचारीको व्यक्ति वृत्ति र सम्मान जनक जीवन बाँच्न पाउनको लागि नै आफु यस संस्थाको स्थापना गरेको बताउनुभएको थियो ।

त्यस्तै, उक्त समारोहमा राजर्षि जनक विश्व विद्यालयका प्रमुख भरत झाले प्रदेश २ का विद्यार्थीहरु प्राविधिक विषय पढ्न बाहिर जान नपरोस भन्ने अभिप्रायले गृहकार्य गरिरहेको जानकारी दिएका छन ।

कार्यक्रममा संस्थाले ‘रजत जयन्ती स्मारिका २०७६’ समेत विमोचन गरेका छन । यस्तै, सँस्थाका लागि योगदान पुरयाएका सेवा निवृत कर्मचारीहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी रामरतन मिश्र , पूर्व अध्यक्ष जुगल किशोर लाभ, समाजसेवी अमरचन्द्र अनिल लगायत सयौं व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

करिब ६०० जना आबद्ध परिषदको वार्षिक साधारण सभामा धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका सेवा निवृत कर्मचारीहरुको सहभागिता रहेको थियो ।