शहिद जनस्मृति प्रतिष्ठानले गरे शहिद परिवालाई सम्मान

शहिद जनस्मृति प्रतिष्ठानले गरे शहिद परिवालाई सम्मान

राजविराज, २१ फागुन । शहिद सप्ताहको अवसरमा शहिद जनस्मृति प्रतिष्ठान सप्तरीले मंगलवार (आज) जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न संघर्षमा सप्तरीमा शहिद भएकाका परिवारजनलाई सम्मान गरेको छ ।

राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका पुर्वउपाध्यक्ष तथा नेकपाका नेता रामप्रति पासवान, प्रदेशसभा सदस्य गोबिन्द बहादुर न्यौपाने, संबिधानसभाका पुर्वसभासद मानपुर चौधरी, पुर्वसांसद असर्फी सदा, नेकपाका नेता महेश यादव, बरिष्ठ पत्रकार शिबहरि भट्टराई लगायतले शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

शहिद जनस्मृति प्रतिष्ठान सप्तरीका अध्यक्ष तथा पुर्वमन्त्री उमेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बक्ताहरुले शहिदहरुको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुलाई अझै जनताले अनुभुति गर्न नपाएको भन्दै शहिद परिवारको रोजगारी सुनिश्चितता गर्नुपर्ने जोड दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका पुर्वउपाध्यक्ष तथा नेकपाका नेता रामप्रति पासवानले शहिदहरुको बलिदानीबाट संघीयता, धर्मनिरिपेक्षता लगायतका ठुलो परिवर्तन आएको उल्लेख गर्नुहुँदै सरकारले शहिदहरुको सपना साकार पर्ने गरि अघि बढ्ेको बताउनुभयो ।

दुई तिहाईको वर्तमान सरकारले सम्बृद्ध नेपाल सुखी नेपालीको नारासहित अघि बढ्ेको बताउनुहुँदै सरकारको उक्त अभियानलाई सफल बनाउन सबैले आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेताहरु शंकर देवकोटा, बेचन चौधरी, भरत महतो, सुखराम यादव, अब्दुल मज्जिद साकिर लगायतले शहिद परिवारको आर्थिक अवस्था जर्जर भएको भन्दै सरकारले उचित रोजगारी तथा शिक्षादिक्षाको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।