भारदहको कङ्कालिनी भगवती जहाँ नेपाल तथा भारतका श्रद्धालुभक्तजनहरू आउने गर्दछन्

भारदहको कङ्कालिनी भगवती जहाँ नेपाल तथा भारतका श्रद्धालुभक्तजनहरू आउने गर्दछन्

सप्तरी जिल्लाको भारदहमा कंकालिनी भगवती मन्दिर स्थापित छ । पूर्वमा कोशी पश्चिम तटबन्धसँगै लोकमार्गको छेउमै अवस्थित यो शक्तिस्थल नेपालमै चर्चित मानिन्छ ।

श्यामसुन्दर यादव

सदरमुकाम राजविराजदेखि १५ किलोमिटर पूर्व सुनसरी जिल्लाको सीमानामै स्थापित बैरवाका विर्तावाल उदयानन्द पण्डितलाई भगवतीले सपनामा भनेकी थिइन् । म भारदह गाउँको पीपलको फेदमा जमीनमुनि बसेकी छु । खनेर मेरो स्थान बनाएर स्थापना गर । म तिम्रो वंशको रक्षा गर्नेछु । सपना देखेको भोलिपल्ट उक्त स्थानमा खनेर हेर्दा भगवतीको मूर्ति भेट्टिएको बूढापाकाहरूको भनाइ रहेको छ । विर्तावाल उदयानन्दले उक्त स्थानमा मन्दिर बनाउन लाग्दा तत्कालीन राजाको तर्फबाट भीमसेन थापामार्फत मन्दिरमा दैनिक पूजापाठको बन्दोवस्त मिलाउन १० विगहा जग्गा प्रदान गरिएको थियो ।

तत्कालीन मन्दिर कोशी कटानमा परेपछि स्थानीयवासिन्दाहरूले टोलमा लगी साधारण फुसको घरमा कंकालिनी भगवतीको स्थापना गरेर पूजा–आजा गर्दैआएका थिए । सन् १९७२ मा हालको स्थानमा सारिएको थियो । भारतका तात्कालीन रेलमन्त्री ललितनारायण मिश्र विमान दुर्घटनामा पर्नलाग्दा सन् १९७० मा भाकल गरेका थिए । उनको भाकल पूरा भएपछि उनले शिखर शैलीको मन्दिर बनाएका थिए । उक्त मन्दिर जीर्ण भएपछि स्थानीय वासिन्दाहरूको विशेष सक्रियता तथा केही विशिष्ट व्यक्तिहरूको समेत सहयोगले पैगौडा शैलीको भव्य एवम् आकर्षक मन्दिर निर्माण गरियो । उक्त मन्दिरमा वि.सं. २०५९ साल असार महिनामा मूर्ति प्रतिष्ठापित गरियो । हालको मन्दिरको भव्यता तथा आकर्षण पूर्व–पश्चिम लोकमार्ग भएर जाने पर्यटक तथा यात्रुहरूको मन लोभ्याउने गर्दछ । प्रत्यक्ष रूपमा कंकालिनी भगवती दर्शन गर्न नभ्याए पनि सवारी साधनहरूबाटै भक्तजनहरूले अपार श्रद्धाका साथ शिर निहुर्या‍‍उने गर्दछन् ।

देशकै प्रमुख पर्यटन केन्द्रको रूपमा रहेको यो शक्तिस्थलमा करिब तीन फिट अग्लो भगवतीको माताको खण्डित मूर्ति स्थापित छ । कालो चिल्लो पत्थरको कंकालिनी भगवतीले कुनै दानवलाई मारी उसको आन्द्रा विकराल दाँतले चपाउँदै गरेको प्रष्ट देखिन्छ । मूर्तिनिर दानव र मूर्तिको दाँतमा आन्द्रा अल्झिएको जस्तो देख्न सकिन्छ । विकराल एवम् दुर्लभ मानिने यस्तो मूर्ति देशको अन्य कुनै शक्तिस्थलमा रहेको पाइँदैन । पुरातत्वविद्हरूका अनुसार यस शक्तिस्थल र काठमाडौंको दक्षिणकालीमा रहेका मूर्तिहरू समकालीन हुन् ।

यस मन्दिरमा भाकल पूरा हुने जनविश्वास रहेको छ । खासगरी निःसन्तान महिलाले यहाँ भाकल गरेपछि सन्तानको प्राप्ति, नोकरीको अवसर, मुद्दामामिलामा जीत, दैवीप्रकोपका साथै अनिष्टहरू साम्य हुने गरेको स्थानीय भुक्तभोगीहरूको कथन छ । भाकल पूरा भएपछि राँगा तथा बोकाको बली प्रदान गर्ने गर्दछन् । यसबाहेक सामान्य रूपमा परेवा, मीठाई, तथा गरगहना समेत भक्तजनहरूले चढाउने गर्दछन् ।

महानवमीका दिन नेपालमै सबभन्दा सयौंको सङ्ख्यामा राँगाको बली प्रदान हुने गर्दछ । यहाँको बलिप्रदान तथा महानवमी पूजा हेर्नका लागि नेपाल तथा भारतको विभिन्न स्थानहरूबाट हजारौंको सङ्ख्यामा श्रद्धालुभक्तजनहरू आउने गर्दछन् । धनकुट्टा स्थितका तत्कालीन पुनरावेदन अदालतमा मुद्दा लड्न जानेहरूले यस शक्तिस्थलमा भाकल गरेर जाने गर्दथे । मनोकामना समेत पूर्ण भएको प्रत्यक्षदर्शीहरूको अनुभव रहेको छ ।

जिल्लाको श्रृङ्गार बढाउनमा यो मन्दिरले महत्वपूर्ण भूमिका खेलेको छ । हजारौंको सङ्ख्यामा रा“गा तथा बोकाको बली प्रदान हुने यस स्थलमा झिंगा नलाग्ने गरेको स्थानीय बासिन्दाहरूको कथन छ । कंकालिनी भगवतीकै पराक्रमबाट अन्तर्राष्ट्रियस्तरमै चर्चित गायक उदितनारायण झा जस्ता कैयौं व्यक्तिहरू सफल भइसकेका छन् । उदितनारायण कंकालिनी भगवतीको अनन्य भक्त थिए । उनको मनोकामना पूर्ण भएका कारण दशमीको अवसरमा नवमीका दिन पूजा गर्न तथा राँगाको बली दिन आउने गर्दथे । उनले हालको नवनिर्मित मन्दिरमा एक लाख रूपैयाँ सहयोग गरेका थिए । मन्दिरको महिमाबाट प्रभावित भई यहाँ नेपाल तथा भारतको विभिन्न जिल्लाहरूबाट श्रद्धालुभक्तजनहरू आउने गर्दछन् ।

कंकालिनी भगवती मन्दिरकै छेउमै सुन्दर एवम् मनोरम दह रहेको छ । स्थानीयवासिन्दाहरूका बीच झिलको नामबाट परिचित उक्त दहमा विभिन्न प्रजातिका चराहरू बिचरण गर्ने गर्दछन् ।

About Shyamsundar Yadav

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।