अंकुरी महादेव मन्दिर अझैं उपेक्षाको मार खेप्दै

अंकुरी महादेव मन्दिर अझैं उपेक्षाको मार खेप्दै

राजविराज, ४ जेठ । देशमा राजनीतिक परिवर्तनहरु भए पनि सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर २ स्थित अंकुरी महादेव मन्दिर अझैं उपेक्षाको मार खेप्दैआएको छ ।

श्यामसुन्दर यादव

राजविराज–भारदह सडकखण्डमा पर्ने मन्सापुर चौकदेखि करिब पाँच सय मिटर उत्तरमा अवस्थित यो मन्दिरको उचित संरक्षण–सम्वद्र्धन हुन नसक्दा अपेक्षाकृत विकास हुन नसकेको हो । नेपाल तथा भारतमा समेत हज्जारौं श्रद्धालुभक्तजनको आस्था केन्द्रको रुपमा रहेको महादेव मन्दिरमा हालसम्म बाउण्ड्री वाल तथा ढोका नभएका कारण चोरी लगायतका समस्याहरु बढ्दै गएको छ ।

एकसाता अघि मात्र मन्दिरमा रहेको दानपेटीकाको रकम समेत चोरी भएको छ । मन्दिरको दैनिक पूजाआजा सहित व्यवस्थापनमा खर्चिने दानपेटिकाको ताला फोरेर चोरले भक्तजन दान गरेको रकम चोरी गरेर लगेको मन्दिर समितिले जनाएको छ । वर्तमानमा स्थानीय जननिर्वाचित प्रचिनीधिहरु आए पनि खासै वास्ता नगरेको स्थानीयवासिन्दाको गुनासो छ ।

यस्तो छ मन्दिरको इतिहास
महादेव मन्दिरमा स्थापित शिवलिङ्ग राती चोरी गरेर लगे पनि विहान भने आफ्नै ठाउँमा देखिने गरेको बुढापाकाहरुको भनाइ छ । स्थानीय गाईभैंसी चराउनेहरुले खेलाउन लान्थे भने कुनैबेला बाँधेर राख्थे तर विहान हेर्दा मन्दिरमै शिवलिङ्ग भेट्टिने गरेको उनीहरुको भनाई छ । एउटा अर्को आश्चर्यको कुरा के हो भने अंकुरी शिवलिङ्गको छेउमा पञ्चमुखि नाग सर्प देखिन्थे । यो पञ्चमुखि सर्प स्थानीयवासिन्दाले प्रत्यक्ष दर्शन गरेको बताईन्छ ।

मन्दिर प्राङ्गणमा महादेव मन्दिर, पार्वती मन्दिर, बजरङ्गबली मन्दिर र गणेश मन्दिर समेत रहेको छ । यसका साथै श्रद्धालुभक्तजनकालागि धर्मशाला समेत निर्माण गरिएको छ । मन्दिर अगाडि रहेको पोखरीमा श्रद्धालुभक्तजनले स्नान गरी जल ल्याएर मन्दिरमा स्थापित शिव लिङ्गमा चढाउने गर्छन् ।

सयौ वर्ष अगाडि चन्द्र दास नाम गरेको एक जना व्यक्ति तिर्थयात्रामा निस्केका थिए । सोही क्रममा सपनामा हालको शिवलिङ्ग रहेको स्थानमा शिवलिङ्ग स्थापित रहेको सपनामा देखे । उनी आसामबाट फर्केपछि उक्त ठाउँमा खनेपछि शिवलिङ्ग फेला परेको थियो । उक्त शिवलिङ्ग सोही स्थानमा गरियो ।

शुरुमा उक्त महादेवको नाम शिवलिङ्ग पार्ने व्यक्तिको नामबाट चन्देश्वरनाथ रहे पनि महादेव आपरुपी अवतरित भएको अंकुरी महादेव भन्न थालिएको हो । मन्दिरमा गरेको भाकल पुरा भएपछि पुरा हुने जनविश्वास रहेको छ । भाकल पुरा भएपछि सप्तरीको बभनकट्टी निवासी नरसिंह प्रसाद सिंहले हालको भव्य मन्दिर निर्माण गरेका छन् । महादेवको पराक्रमबाट प्रभावित भएकै कारण नेपाल तथा भारतको विभिन्न स्थानबाट दर्शन, पूजाआजा तथा जल–रिसालकालागि आउने गर्छन् ।

दैनिकजसो श्रद्धालुभक्तजन आईरहने यस मन्दिरमा महाशिवरात्री र अनन्त चतुर्दशीमा श्रद्धालुभक्तजनको भींड लाग्ने गर्दछ । भाकल पुरा भएपछि मन्दिरमा भक्तजनले झाँप, चनमा आदि चढाउने गर्छन् । यसैगरी प्रसादको रुपमा लड्डु, पान, सुपारी, खीर आदि चढाईने गरिन्छ ।

यस्तै अंकुरी महादेवको पराक्रमबाट प्रभावित भएर तत्कालिन सद्भावना पार्टीका अध्यक्ष समेत रहेका आपूर्ति मन्त्री स्व. गजेन्द्रनारायण सिंह र पूर्व सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले पक्की धर्मशाला निर्माण गरिदिएका छन् । देश–विदेशमा सर्वाधिक चर्चाको शिखरमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सी.के. राउतको पैतृक गाउँ महदेवा भएका कारण उनी बच्चैदेखि अंकुरी महादेवको पूजाआजा गर्दथे । वर्तमान समेत उनी आफ्नो गाउँ जाँदा महादेव मन्दिरमा शीश झुकाउन अनिवार्य रुपमा जाने गर्दछन् ।

देश विदेशका श्रद्धालुभक्तजनको आस्थाको केन्द्रको रुपमा रहेको यस अंकुरी महादेवको नामबाटै गाउँपालिकाको नाम राखिएको छ । यद्यपी यसको समुचित संरक्षण सम्वद्र्धनमा ध्यान दिन सकिएको छैन । पर्यटकीय स्थलको रुपमा विकास गरिए गाउँपालिका मात्र नभई जिल्लाको विकासमा मद्दत मिल्ने निश्चित रहेको इतिहासविद् प्रा.डा. पिताम्बरलाल यादवको भनाइ छ ।

About Shyamsundar Yadav

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।