कोशी टप्पुः सप्तकोशी नदीको किनारमा अर्ना देखि घुमन्ते चरासम्म

कोशी टप्पुः सप्तकोशी नदीको किनारमा अर्ना देखि घुमन्ते चरासम्म

कोशी टप्पु वन्यजन्तु आरक्षकोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यस आरक्षको स्थापना  वि.सं. २०३२ सालमा स्थापना भएको छ । कुल १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ ।

श्यामसुन्दर यादव

यो आरक्ष सन् १९८७ रामसार सुचीमा सुचीकृत भई नेपालको पहिलो ठूलो रामसार क्षेत्रको रूपमा चिनिएको छ ।  यस आरक्षमा ४ सय ८९ प्रजातिका चराहरू, २ सय १९ को सङ्ख्यामा दुर्लभ अर्ना र करिव ११–१२ वटा दुर्लभ डल्फीन समेत संरक्षित रहेका छन् । नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने उद्देश्यले मध्यवर्ती क्षेत्रको घोषणा गरे अनुरूप मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन पहिलो पटक २०६१ भदौ ३१ मा गरिएको हो । मध्यवर्ती क्षेत्रको क्षेत्रफल १ सय ७३ वर्ग कि.मि.मा रही सुनसरी, सप्तरी र उदयपुरको १६ वटा गाउँ विकास समितिहरू समेटिएको छ ।

मध्यवर्ती क्षेत्रमा सप्तरीको फत्तेपुर, ओद्राहा, कमलपुर, पिप्रापूर्व, जगतपुर, बदगामा, बरमझिया, घोघनपुर र बैरवा गरी ९ ओटा गाविसहरू पर्दछन् । पिप्रापूर्व गाविसमा मृगवन रहेको छ भने कमलपुर गाविसमा आकक्र्षक एवम् मनोरम मानिएको कमलदह रहेको छ ।

कोशी टप्पु वन्य जन्तु आरक्ष दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामा सप्तकोशी नदीको किनारमा  अवस्थित छ । यो आरक्ष वि.सं. २०३२ सालमा लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैंसी)हरूको संरक्षित वासस्थानको रूपमा स्थापना भएको हो । नेपालको सबैभन्दा सानो आरक्षको रूपमा रहेको दक्षिणी सिमामा सप्तकोशी नदीको बाँध रहेको छ ।  सुन्दर र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साइवेरियाबाट घुमन्ते चराहरू आउने जाने गर्छन् । यस अतिरिक्त यो आरक्ष दुर्लभ गिद्धका लागि पनि प्रसिद्ध मानिन्छन् ।

यस आरक्षमा लोपोन्मुख अवस्थामा रहेका अर्नाका साथै हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर, गोही सहित २० भन्दा बढी प्रजातिका जनावरहरू पाइन्छन् । विश्वमै दुर्लभ मानिएको काँडेभ्याकुर चरासहित ४ सय ४१ प्रजातिका चराचुरूङ्गीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचर प्रजातिका १ सय १४ प्रजातिका पंक्षीहरू पाइन्छन् । जसमध्ये लोसार, ठूलो धनेश, स्वाम्प प्याराडाइज, फिसिङ् इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङफिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन् । साथै जाडो मौसममा रूसको साइवेरिया, भारत, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन, इरानबाट पनि चराहरू बथानका बथान बसाइँ सरेर आउने गरेको पाइन्छ । यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरूका साथै दुर्लभ घडियाल गोही तथा ग्याङ्गेटिक डल्फिन समेत पाइन्छन् ।

कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै कर्याङ्कुरूङ, सारस, पानीहाँस हुलका हुल देख्‍न पाइन्छ । अर्ना, डल्फिन र घडियाल गोही चाहिं कोशी टप्पुको प्रमुख आकर्षण हुन् । कार्तिकदेखि फागुनसम्म अर्ना र चराको संसारमा घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ । यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ । अझैं हात्ती चढेर आरक्षण र नजिकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ । चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ ।

About Shyamsundar Yadav

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।