ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा औठा छाप

ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा औठा छाप

राजविराज, ११ असार ।
लेख्न, पढ्न नजानेकी एक बृद्धालाई झुक्याएर लाखौंको जग्गा हडप्न खोज्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका २ निवासी ६३ वर्षिया अघनियादेखी कोइरीको १६ कठ्ठा ८ धुर जग्गा किर्ते गरेर हडप्न खोजेको आरोपमा छिमेकी लक्ष्मण साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडित बृद्धा अशिक्षित छिन् । उनी लेख्न, पढ्न जान्दिनन् । उनको एक मात्र छोरा छन् । रोजगारको सिलसिलामा बिदेशमा रहेका छोराले पठाउने रकमबाट घर खर्च कटाएर बचेको रकम उनी गाउँमै ब्याजमा समेत लगाउने गर्छिन् ।

छिमेकी साहकै आग्रहमा उनी लहान निवासी सत्यानारायण पंजियारलाई २ लाख रुँपैया ऋण दिन तयार भएकी थिइन् । यसरी ऋण वापत दिएको ठूलो रकमको सुरक्षाका लागि पंजियारसँग कागज गराउनु पर्छ भनी सुझाव दिएका साहले उल्टै अघिनिया देवीले आफ्नो नाउँमा रहेको जग्गा मध्ये १६ कठ्ठा ८ धुर जग्गा पंजियारलाई बिक्रि गरेको कागजात बनाई झुक्याएर अघिनिया देवी सँग औठा छाप लगाएका थिए । त्यसपछि साह र पंजियार सदरमुकाम राजविराजस्थित भूमी सुधार तथा मालपोत कार्यालय पुगेर नामसारी प्रक्रियामा लागेका थिए ।

 

यता ऋण दिएको कागजामा औठा छाप गरेको र अब महिने-महिनै ब्याज आउने आशमा खुशी भएकी अघिनियाँलाई काम विशेषले मालपोत कार्यालय पुगेका सोही वडा निवासी शुभकलाल महतोले “तपाईले जग्गा बेचेको हो ?” भनी जिज्ञासा राख्दा उनी छानाबाट खसे जस्तै भइन् । उनले महतोलाई आफूले कुनै जग्गा नबेचेको तथा पंजियारलाई ऋण दिएको कागजामा मात्र औठा छाप लगाएको बताएपछि किर्ते गरि जग्गा हडप्ने प्रयासको खुलासा भएको हो ।

मंगलबार मालपोत कार्यालयमा एक बृद्धालाई नक्कली अघिनियाको रुपमा प्रस्तुत गरि नामसारीको प्रयास भइरहेकै बेला अघिनियादेवीका आफन्त र शुभचिन्तकहरु पुगेपछि साह र पंजियार फरार भएका थिए ।

प्रहरीले खोजतलासको क्रममा साहलाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

About Saurav Yadav

लेखक शौरभ यादव पत्रकारिता सहित बालअधिकार, महिला र खेलकुदका विषयमा कलम चलाउनुहुन्छ ।