महान छठ पर्वको धार्मिक र सांस्कृतिक महत्व

महान छठ पर्वको धार्मिक र सांस्कृतिक महत्व

सनातन हिन्दु धर्मावलम्बीहरुले वैदिक कालदेखि नै प्राकृतिक देवताहरुको पूजा र आराधना गर्दै आएका छन् । छठ पर्वमा सूर्य भगवानको पूजा गरिन्छ । सृष्टिको आदिकालदेखि नै साक्षत सूर्यको बन्दना गर्ने प्रचलन रहि आएको छ । वैदिक साहित्यमा ‘तमः आसित’ अर्थात सृष्टिको उत्पत्ति हुनु अघि सर्वत्र अन्धकार थियो । हिरण्यको गर्भबाट एउटा दिव्य तेज गोलाकार रुपमा प्रकट भयो । त्यो तेज दिगन्त व्यापनी भएकोले नै ऋग्वेदमा ‘सूर्य आत्मा जगस्तस्युषश्य’ भनेको छ । यसै प्रभावबाट सम्पूर्ण सम्पूर्ण दिशाहरुको अन्धकार नष्ट भयो । आधुनिक वैज्ञानिकले पनि सूर्यलाई एक अग्निपिण्ड नै मानेको छ ।

रामनारायण देव

सूर्यका अनेकौ नामहरु छन् । महाभारतमा १०८ अमरकोषमा ५४ र शतपथ ब्राहमणमा १२ नामहरुको वर्णन छन् । सूर्यका चार पत्नीहरु संज्ञा, राज्ञी, प्रभा र छाँयाको नाम आउँछन् । सूर्य परिवारका अन्य देवताहरु र नवग्रहहरुको उत्पत्ति सूर्यबाट भएको वर्णन पुराणहरुमा छन् । साम्वपुराणको अनुसार सूर्य तेज प्रकाश र अग्निका उष्माको परस्पर संयोगबाट सूर्य रश्मिको उत्पत्ति हुन्छ । जसमा सात रश्मिहरु मुख्य छन् ।

यसै सप्त किरणलाई आधुनिक वैज्ञानिकहरुले सातरंग रातो, हरियो, निलो, पहेलो, सुन्तला, आकाशे र खैरो भनेका छन् । भौगोलिक स्थितिका कारण सूर्यका सातौं किरण गंगा–जमुना मध्यभागमा अत्यधिक समयसम्म उष्णता प्रदान गर्ने भएकाले आध्यत्मिक जन्मभूमि स्थल रहेको छ । त्वचा सम्बन्धी रोगको उपचार सातौं रंगबाट हुन्छ । तसर्थ आधुनिक चिकित्सामा पनि सूर्य स्थानको महत्व बन्दै गएको छ ।

वैदिक कालदेखि आधुनिक कालसम्म ‘सुवति प्रेयति कर्मणि लोकम्’ भन्दछन् । सूर्य उपनिषदमा सूर्यलाई ब्रह्माको साकार रुप, सृष्टि संचालक विराट पुरुषको आँखाबाट उद्भव–‘चक्षे सूर्यो अजायत’ भनिन्छ ।

सूर्य पूजाको परम्परा अति प्राचीनकालदेखि नै मानव मस्तिष्कलाई सूर्यले जति प्रभावित गरेको छ त्यस्तो अरु कुनै देवताले गरेको छैन । विश्वका सबै धर्मस्थलमा सामान्य रुपबाट प्रकाशलाई इश्वरको प्रतिक मानेको छ । तसर्थ सबै मन्दिरमा दीप जलाउने गरिन्छ । हाम्रा ऋषिहरु ‘तमसोमा ज्योतिगर्मय’ का बन्दना गरेका छन् । ऋवेद कालदेखि सूर्य उपासना प्रारम्भ भई अनवरत रुपमा अथर्व वेद उपनिषद, सूर्योप निषद, तैतरीय ब्राहम्ण रामायण, महाभारत इत्यादी ग्रन्थहरुमा यसको चर्चा पाइन्छ ।

ज्योतिष शास्त्रको उत्पतिको मूल कारक योगीहरुको ध्यान केन्द्र सूर्य र त्यस सम्बन्धी अनेकौ कथाहरुको वर्णन हिन्दु वाडमयमा भएको छ । कृष्णपुत्र शाम्वमा कूष्ठ निवारण सूर्य शतकका रचनाकार महाकवि मयुरको कुष्ठ रोग निवारण, कथाहरु सूर्यसँग सम्बन्धित छ । सूर्यवंशका उद्भव राजाहरुको उपाधि ‘विक्रम’ मुद्राहरुमा सूर्यचक्रको चिन्ह जस्ता कुराहरुले पनि सूर्यको महत्वतालाई दर्शाउँछ । सिन्धु घाटी सभ्यतादेखि नै भारतवर्षमा सूर्य उपासनाको परम्परा रहेको छ ।

यसका अतिरिक्त जापान, चीन, इरान इत्यादी देशरुमा पनि सूर्य पूजा गर्ने चलन थियो । अमेरिकाको कयालि फोर्निया माण्न्ट पैलिमरीमा अवस्थित हेलमान मन्दिरबाट प्राप्त सूर्य मूर्तिबाट सूर्य पूजाको प्रसार सर्वव्यापि रहेको देखिन्छ ।

मिथिलामा सूर्य उपासना मिथिला वैदिक धर्मको सर्वाङ्गिण अभ्यूथानका लागि प्रसिद्ध थियो । उपनिषदकालिन मिथिला विशेष रुपमा आध्यत्मिक चिन्तकको उद्भव भूमि थियो । जसको पोषक राजा जनक याज्ञबल्कय मैत्रेयी, गार्गी अष्यवक्र, सदानन्द आदि थिए । धर्मको स्वरुप निर्णयमा कुनै मतभेद भएमा विद्वानहरुको खोजी गर्नु आवश्यक थिएनन । मिथिलाको व्यवहार देखेर नै निर्णय गर्नु पर्दछ भन्ने मान्यता स्थापित भयो । ‘धर्मस्य निर्णयोज्ञेयः मिथिला व्यवहारतः’ भन्ने उक्तिले यसलाई प्रमाणित गर्दछ । यसै वैदिक परिवेशमा मिथिलामा सूर्य पूजा प्रारम्भ भएको थियो ।

छठ पर्वको उत्पत्ति छठ पर्वको उत्पत्ति कूनकालमा भयो यसको कुनै ऐतिहासिक प्रमाण उपलब्ध छैन । साथै यसको सम्बन्ध सूर्यसँग कसरी भयो यसमा पनि मतभेद नै छ । पर्व दुई प्रकारका हुन्छ शास्त्राचार र लोकाचार । छठ पर्वको उत्पत्तिको कारण शास्त्राचार अन्तर्गत प्रत्यक्ष देवता सूर्यको पूजा र उपासना वैदिक कालदेखि नै आइरहेकोले लोकाचार अन्तर्गत महोत्सवको रुपमा मनाइने प्रथा विकसित भएको मान्न सकिन्छ । यसको महत्वपूर्ण कुरा षष्ठी तिथि हो । जून अपभ्रश भई छठ भएको हो ।

षष्ठी–छठि–छठ शब्दको यसरी रचना भएको हो । सूर्यसँग षष्ठी तिथिको सम्बन्धको चर्चा ब्रह्मवैवर्त पुराणमा उल्लेख भएको छ । यस पुराण अनुसार प्रकृति देवीले आफूलाई पाँच भागमा विभाजित गरिन जून दुर्गा, राधा, लक्ष्मी, सरस्वती र सावित्री । यिनी पूर्ण प्रकृति देवी हुन् । यिनका नै अंश र कलाबाट अनेकौं देवीहरुको उत्पति भयो जस्तो कि मार्कषडेय पुराणमा भनिएको छ ‘स्त्रियः समस्ता सकला जगत्सु’ ।

प्रकृति देवीको एउटा प्रधान अंशलाई देवसेना भनिएको छ, जसलाई श्रेष्ठ मातृका मानिएको छ । यसलाई समस्त शिशुहरुको रक्षिका देवी मानेको छ । प्रकृतिमा छैठो अंश भनेको कारण यसलाई षष्ठी देवी भनेको छ । शिशु रक्षिका भएको हुनाले यस देवीको पूजा विशेष रुपमा हुन्छ । यो बच्चा जन्मेका छेठौं दिन होस् वा कार्तिक शुक्ल पक्षको षष्ठी तिथिको होस् । मिथिलामा यस देवीको नाम ब्रह्मवैवर्त पुराणको प्रकृति खण्डमा काव्यायानी भनेको छ । अर्थात ‘षष्ठा प्रकृतये चसा च षष्ठी प्रकृर्तिता’ ।

सूर्य पूजाको साथ यस षठी देवीको पूजा विधान कसरी प्रारम्भ भयो विचारणीय प्रश्न हुन् ? भविष्य पुराण र ब्रह्मवैवर्त पुराणमा यस देवीको पूजाबारे चर्चा गरिएको छ । विद्यापति कृत वर्षकृतमा प्रतिहार षष्ठीको रुपमा सूर्य षष्ठीको चर्चा गरिएको छ । यस प्रकार छठपर्वलाई छठी माता, सूर्यषष्ठी र प्रतिहार षष्ठी पनि भनेको छ । यी सबै नाममा षष्ठी तिथिको उल्लेख भएतापनि षषठी तिथि मुख्य नभई षष्ठीसँगै सप्तमी तिथिको प्रधानता छ । यसलाई प्रतिहार षषठी पनि भनेको छ । प्रतिहारको अर्थ अर्कोदिन पूजाको ढोका खोल्नु हो । यस प्रतिहार शब्दले षष्ठी तिथिलाई गौण बनाई सप्तमी तिथिलाई महत्वता प्रदान गरेको छ ।

सप्तमी तिथि सूर्यका तिथि हुन् र यसले रोग निवारक धन–धान्य प्रदान कर्ता दीर्घायू तथा सन्तान सुख प्रदान गर्ने तथा षष्ठी देवी सन्तान रक्षा गर्ने भएकोले दुवैलाई एकात्म गरेको हुनु पर्दछ । साथै सूर्य तिथि नियोजिक भएकोले यसको पूजा षष्ठी देवीको सूर्य साथ गर्ने चलन रहेको देखिन्छ ।

यस पर्वको शुरुआतको बारे धेरै कथाका सन्दर्भ जोडिएको छ । साम्वपुराणमा आफ्नै पिता श्री कृष्ण तथा महर्षि दूर्वासाको श्रापद्वारा भयंकर कूष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरुप रोग मुक्त हुनु भएको थियो भन्ने चर्चा छ । सातौं शताब्दीमा उत्तरी भारतका राजा सम्राट हर्षवद्र्धनको दरवारमा कवि वाण भट्टका साला तथा प्रसिद्ध कवि मयूर भट्ट आफ्नै पुत्रीको श्रापद्वारा कुष्ठ पीडित भई सूर्यको उपासना गरेर सुन्दर शरीर प्राप्त गरेको इतिहास छ । त्यसैले उहाँद्वारा सूर्यशतकम् भन्ने पुरस्तक रचना भएको थियो ।

अर्का थरि विद्वानहरुका अनुसार महाभारतकालमा द्रोपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्य देवताको आराधना गरेका थिए । सूर्य पुराणमा वर्णन गरिए अनुसार सर्वप्रथम अग्नि मुनिको पत्नी अनुसूयाले छठव्रत गरेकी थिइन । आफ्नो अटल सौभाग्य र पतिको प्रेम प्राप्त होस् भन्ने उद्देश्यले उनले छठव्रत लिएको थिइन भने भनाई छ ।

छठ पर्व चार दिनसम्म मनाइन्छ । पहिलो दिन अर्थात चतुर्थीदिनलाई अरवा–अरवाइन तथा नुहाई खुवाई भन्दछन् । यो दिन व्रतिले भोजनमा माछा–मासु, लहसुन, प्याज, कोदो, मासुर आदिको त्याग गरिन्छ । नङ कटाई नुहाई–धुवाई गरि सर्वाङ्ग शुद्ध भई यसै दिनदेखि व्रत बस्न थाल्दछन् । पंचमी तिथिलाई खरना (अखण्ड–संरक्षण) भनिन्छ । यस दिन व्रतिले दिनभरि निर्जला बस्दछन् र यति चन्द्रोदय पछि चन्द्रमालाई खीर अर्पण गरि सोही प्रसाद ग्रहण गर्दछ । यस दिनपछि व्रतिले पूर्ण व्रत लिनु पर्दछ ।

षष्ठीका दिन अस्ताचलगामी सूर्यलाई अध्र्य चढाइन्छ । अध्र्य कुने तालाउ वा पोखरी वा नदीमा गएर दिइन्छ । अपरान्हदेखि नै त्यस जलाशय पोखरी नदीमा परिवारका सदस्यहरु मिलेर पूजा सामग्रीहरु पु¥याउँछन् । संध्याकालिन अध्र्यकालागि पानीमा प्रवेश गर्दछिन् । स्नानगरि हातमा पूजा सामग्रीहरु लिएर पश्चिम तिर फर्कि अध्र्य दिन्छिन । त्यस्तै सप्तमी तिथिमा प्रातःकालिन सूर्यलाई अध्र्य दिइन्छ । यस अवसरमा महिलाहरुले मधुर कण्ठबाट छठी माताको गीत गाउँछिन् । अध्र्य सम्पन्न भएपछि परिक्रमा गरि घर फर्किन्छ । घरमा गई सूर्यपुराण श्रवण गर्ने चलन छ । यसरी छठव्रत सकिन्छ ।

(लेखक देव मैथिली साहित्य, कानून एवम् राजनीतिक विषयका जानकार मानिन्छन् )

प्रथम पटकः न्युज टुडेमा प्रकाशित

About Shyamsundar Yadav

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।