ठेलियाको ऐतिहासिक खोत्तरदेवी गुफामा अवस्थित शिव लिङ्गः ओझेलमा पर्दै

ठेलियाको ऐतिहासिक खोत्तरदेवी गुफामा अवस्थित शिव लिङ्गः ओझेलमा पर्दै

बोधराज सुवेदी, महुली । नेपाल अर्थतन्त्रको हिसावले विश्व मानचित्रमा तुलनात्मक रुपमा गरीब भए पनि यहाँको भौगोलिक विविधताको साथै मनोरम प्राकृतिक सम्पदा र ऐतिहासिक महत्व बोकेका कैयों धरोरहरुको धनी रहेको छ । यीनै सम्पदाको आधारमा नेपालको विकासमा प्रसस्तै सम्भावनाहरु आंकलन गर्ने गरिएको छ । तर, आफैंभित्र रहेको प्रचुर सम्भावनाहरुलाई पहिचाहन गर्न नसक्दा नेपाल र नेपालीहरुले सधैंभरि पछाडि पर्नु नियती नै बनिसकेको छ । उचित संरक्षण सम्वर्द्धन एवम् प्रचार प्रसारको कमीले गर्दा नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने पर्यटन विकासका महत्वपूर्ण धरोहरहरु दिनानुदिन ओझेलमा पर्दै गएका छन् । यसरी ऐतिहासिक महत्व बोकेको भए पनि कसैको नजर पुग्‍न नसकेको धरोहर मध्येको एक हो खोत्तरदेवी गुफा ।

प्रत्येक वर्ष वैशाख १गते खोत्तरदेवीमा मेला भर्नेको ठूलो घुँईचो लाग्ने गर्दछ । हजारौको संख्यामा मेला भर्न आएका नर नारीले खोत्तरदेवी गुफामा अवस्थित शिव लिङ्गको दर्शन गर्ने गरेका छन् । तर, यसको महत्वलाई सम्झेर दर्शन गर्न आउने जिम्मेवार अ‍ोहदाका व्यक्तिहरुले पनि उही वर्षको एक दिन वाहेक अरु दिन सम्झन र यसको विकाश तथा व्यवस्थापनको विषयमा सोच्‍न नसक्दा यो ओझेलमा पर्न गएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ११ ठेलिया स्थित खोत्तरदेवी सामुदायिक वन क्षेत्र भित्र अवस्थित ऐतिहासिक खोत्तरदेवी गुफाको दर्शन गरेपछि दिर्घ रोग निको हुने र बर्षै भरी रोग नलााग्ने धार्मिक विश्वास रहेकोले प्रत्येक वर्ष दर्शन गर्नेहरुको सङ्ख्या बढ्दै गएको स्थानिय रघुनन्दन मण्डल बताउँछन् । सत्ययुगदेखिको इतिहास जोडिएको भएपनि खोत्तरदेवी गुफाको समुचित विकास तथा प्रचार प्रसारमा कसैले ध्यान दिन नसकेकोले दिनानुदिन यो गुफाको अस्तित्व सङ्कटमा पर्दैगएको उनको भनाई छ ।

खोत्तरदेवी गुफामा भगवान शिवले तपस्या गरिरहेको अवस्थामा भष्मासुर भन्ने राक्षसले प्राप्त गरेको सवैलाई भष्म गर्न सक्ने वर परीक्षण गर्दाको रोचक प्रसङ्गसँग जोडिएको छ । सत्ययुगमा भष्मासुरले गरेको तपस्याबाट प्रसन्न भएर भगवान शिवले भष्मासुरलाई जसको शिरमाथी हात राख्यो उसको भष्म हुने वर दिएका थिए । त्यसपछि भष्मासुरले आफ्नो सो वरदानको परीक्षण गर्न शिव भगवानकै शिरमाथी हात राख्‍न खोज्दा शिवजी तपस्या छोडेर उक्त खोत्तरदेवीको गुफाबाट भागेका थिए । तपस्या छोडेर भाग्ने क्रममा महादेवले सुन्दरी खोलाको बाटोबाट उदयपुरको छामलिङ्ग कोशी हुँदै खोटाङ्गको हलेशीमा पुगेर पुनः गुफामा तपस्या आरम्भ गरेको धार्मिक विश्वाश रहेदेखि खोत्तरदेवी गुफाको हलेसी महादेवसँग प्रत्यक्ष सम्वन्ध रहेको ऐतिहासिक पक्षले गर्दा खोत्तरदेवीको महिमा चलेको पाईन्छ ।

यति मात्र होइन खोत्तरदेवी गुफा परिसर भित्र विरालो चढाउने भिमसेन थान र कहिल्यै नसुक्ने अजम्बरी पोखरी समेत रहेका छन् । यहाँ स्थितभिमसेन थानमा भाण्टा, बिरालो आदि चढाएर भाकल गरेमा सो पुरा हुने र जस्तोसुकै चर्म रोग पनि निको हुने, सन्तान नभएकाहरुको सन्तान जन्मिने तथा हरेक मनोकामना पुराहुने गरेको सो थानका पुजारी हर्कु धामीले बताए । भिमसेन थानमा बोका, पाठी र परेवाको वली दिएर भाकल पुरा गर्ने चलन रहेको उनको भनाई छ । उनका अनुसार प्रत्येक वर्ष करिव १ सय ५० वोका पाठी र २ सय जोर परेवाको वली दिएर हजारौं भत्तजानहरुले भाकल पुरा गर्ने गरेका छन् ।

त्यसैगरी त्यहाँ स्थित अजम्बरी पोखरीमा नुहाउनाले हरेक किसिमको चर्म रोगहरु निको हुने विश्वाश रहेको पुजारी धामीले बताए । उनले भने ‘खोक्तरदेवी गुफाको दर्शन गर्न आउने सवै तिर्थालुहरुले अजम्बरी पोखरीमा नुहाउने गरेका छन्, यो पोखरी जस्तोसुकै खडेरीमा पनि सुकेको छैन ।’ नुहाउनेमध्ये धेरैले छालाको रोगहरु निको पारेको अनुभव सुनाउने गरेको बताउँदै उनले अगाडि भने ‘उचित संरक्षण र रेखदेख नहुँदा अहिले आएर पोखरीको पानी फोहोर हुँदै गइरहेको छ ।’

उता नेपालको अमुल्य निधीको रुपमा रहेको खोत्तरदेवी गुफाको असिम ऐतिहासिक महत्वको वावजुद यसलाई सम्वन्धित पक्षले कुनै वास्ता नगर्दा कतै अस्तित्व नै गुम्ने त होईन भन्ने चिन्ताले ग्रसित भएको स्थानियवासीहरु बताउँछन् । यस विषयमा राज्यको स्थानीयदेखि केन्द्रीय निकायले सिघ्र ध्यान दिनु पर्ने उनीहरुको माग रहेको छ । खोत्तरदेवी गुफा जस्ता धार्मिक एवं ऐतिहासिक सम्पदाको संरक्षण सम्वर्छद्धन र प्रचार गर्न सके ग्रामिण पर्यटनको विकास भई मुलुकको अर्थतन्त्रमा समेत उल्लेख्य टेवा पुग्‍न जाने सरोकारवालाहरुको भनाई छ ।

श्रोतः प्रथम पटक न्यूज टुडेमा प्रकाशित