आन्तरिक पर्यटकको आकर्षण बनेको लोहजारा ताल (दह):भिडियो सहित

आन्तरिक पर्यटकको आकर्षण बनेको लोहजारा ताल (दह):भिडियो सहित

धिरेन्द्र शाह

सप्तरीको लोहजारा तालमा (दह) पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यटकीय स्थलका रूपमा जीर्णोद्धार गरिएको  लोहजारा तालमा आन्तरिक पर्यटकले खचाखच भरिने गरेको छ ।

जाडोयाममा वनभोज (पिकनिक) मनाउने समूहको जिल्लामा पहिलो रोजाइ लोहजारा ताल नै बनेको छ । यसका साथै अङ्ग्रेजी महिनाको अन्तिम तथा नयाँ वर्ष मनाउन लोहजारा ताल खचाखच भरिने गरेको छ । हिजोआज दैनिक २५-३० वटा समूह पिकनिक मनाउन पुगेकै हुने गर्दछ ।

शैक्षिक अध्ययन, अवलोकन भ्रमण, शुक्रबार, शनिबार तथा अन्य बिदाका दिनमा कर्मचारी, विद्यार्थी, युवकयुवती, व्यापारीलगायतको समूहले लोहजारा ताल भरिने गरेको तिरहुत–५ का वडा अध्यक्ष रमानन्द चौधरीले बताउनुभयो । लोहजरा तालले चर्चित बाबा ठाकुर ताल सुन्दर र मनमोहक दृश्यले सजिएको छ । तालको उत्तरपट्टि हरियो जङ्गलभित्र पिकनिक स्थल (वनभोज) सुविधासम्पन्न सेड निर्माण, खानेपानी, शौचालय, तालमा बोटिङको व्यवस्था गरिएको हुँदा रमाउँदारमाउँदै दिन बितेको थाहा हुदैन ।

जिल्लाको साविक लोहजारा गाविस–३ हाल तिरहुत गाउँपालिका–५ मा उक्त ताल अवस्थित छ । सगरमाथा अञ्चल तथा सप्तरी जिल्लाको सदरमुकाम राजविराजदेखि हुलाकी राजमार्ग

(कञ्चनपुर रोड)हुँदै १३ किलोमिटर माटो ग्राभेल कच्ची बाटोको दूरीमा रहेको ताल ११.९ हेक्टर क्षेत्रफल ओगटेको छ । हराभरा चुरे जङ्गलको ८३.१३ हेक्टर क्षेत्रफलसँग टाँसिएको तालमा रहु, नैनी, भाकुर, विघेट, सिल्भर, कमन जातका माछाले पर्यटकलाई लोभ्याउने गरेको छ । भोजभतेरमा खानपानका लागि चाहिने पुरैन पात पनि आकर्षक नै बनेको छ । तालमा सघै पैनकौआ, पैनडुबी, चकेवा, झिला, सिल्की पानीमा खेल्न आउने गरेको छ । तालमा आउने पशुपक्षी, माछा, बोटिङ हेर्नका लागि १५ जोडी छातासहित टेबुल, कुर्सी चौतारा वरिपरि निर्माण गरिएकोे छ ।

चुरे जङ्गलको काखमा अवस्थित तालको बीच भागको मन्दिरले थप सौन्दर्यता र आकर्षण  बढाएको छ । चुरे जङ्गल संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले जीर्णोद्धार गरिएको तालको उत्तरपट्टि हरियो जङ्गलभित्र पिकनिक स्थल (वनभोज) सुविधा सम्पन्न सेड निर्माण गरिएकाले पिकनिकसँगै तालको रमणीय दृश्यमा पर्यटक रमाउने गरिन्छ । तालभित्र बाबा ठाकुर मन्दिरको दर्शनले अनिष्टताबाट जोगाउने गरेको जनविश्वास छ । पर्यटकलाई रमाउन तालमा सःशुल्क बोटिङ गर्न पाइने व्यवस्था गरेको छ ।

पूर्व–पश्चिम लोकराजमार्गअन्तर्गत सप्तरीको महुली पुलदेखि दक्षिण ५ किलो मिटर र बरमझिया सुब्बाटोलदेखि पश्चिम १० किलोमिटर ग्राभेल बाटोबाट मोटरमा सवार भएर यस तालमा पुग्न सकिने अर्को बाटो छ । बाहिरिया पर्यटकका लागि मुख्य तीनतिरको बाटोबाहेक अन्य बाटो भएर त्यहाँसम्म पुग्न सक्नेछन् । आन्तरिक पर्यटकको आकर्षण बनेको लोहजारा तालमा बाह्य पर्यटक तान्‍न प्रचारप्रसारको खाँचो छ ।

श्रोतः प्रथम पटक गोरखा पत्र अनलाइनमा प्रकाशित, फोटोः लोहजरा दह फेसबुक पेज, भिडियोः टुडे खबर टिभी