नेपालको जयपुरे शहर राजविराजः नक्साका आधारमा व्यवस्थित सहर मुलुकमा कमै

नेपालको जयपुरे शहर राजविराजः नक्साका आधारमा व्यवस्थित सहर मुलुकमा कमै

राजिवराज नगरपालिका

नेपालको अति पुरानो नगरपालिकाहरू मध्ये राजविराज एक हो । यो वि.सं. २०१६ सालमा नगरपालिकाको रूपमा घोषणा भएको हो । यो सर्वोच्च शिखर रहेको सगरमाथा अञ्चलको सदरमुकाम पनि हो । काठमाडौंदेखि ४ सय ५७ किलोमिटर तथा पूर्व–पश्चिम लोकमार्गको रूपनी खण्डबाट १० किलोमिटर दक्षिण तथा भारतको कुनौली बोर्डरबाट ११ किलोमिटर उत्तरमा यो नगरपालिका अवस्थित छ ।

नामाङ्करण सम्बन्धी अवधारणाः सप्तरी जिल्लाको मध्य स्थान हालको राजविराजमा प्राचीन समयमा राजाहरू शासन गर्दथे । राजाहरू बिराज (बसोबास) गरेको हुनाले यस स्थानलाई कालान्तरमा राजविराज भन्न थालिएको हुन सक्छ । अर्को महत्वपूर्ण तर्क के छ भने नगरको पूर्वपट्टि हाल राजविराज–९ स्थित मन्दिरमा राजदेवी माता विराजमान भएको हुनाले यो स्थान राजदेवी माताकै नामबाट नामाङ्करण भएको स्थानीय बुढापाकाहरूको भनाइ छ ।

सप्तकोशी नदीले तात्कालीन सदरमुकाम कटान गर्न थालेपछि सुरक्षित स्थानको रूपमा राजविराजलाई चयन गरियो । सोही क्रममा त्यतिबेलाका पूर्वी कमाण्डिड्ड जनरल बबरशम्शेर जबरा र तिनका प्रतिनिधि प्रकाशशम्शेर जबराले यो स्थानलाई उपयुक्त ठहरयाए । राजविराज नगरपालिकाको नगर योजना ६० बिघाको प्लटमा तत्कालीन इन्जिनियर डिल्लीजङ्गले गरेका थिए । उनले भारतको गुलाबी सहर भनेर चिनिने जयपुरको नक्साको आधारमा टाउन प्लानिड्ड गरेका थिए । सुरूमा ६० बिघा जग्गामा टाउन प्लानिड्ड भएपनि कर्मचारी आवास भनेर उत्तरपट्टीको २ बिघा र दक्षिणतर्फको ८ बिघा समेत समेत गरी ७० बिघामा नगर बसाइएको हो ।

प्रत्येक चार घरको पछाडि सानो गल्ली, मेनरोड र सहायक रोड जोडिने ठाउँमा चौक तथा अलग अलग स्थानमा हटिया, किराना पसल, तरकारी बजार लाइन र सरकारी कार्यालय भवनहरू व्यवस्थित रूपमा मिलाइएको छ । नक्साका आधारमा यस्तो व्यवस्थित सहर मुलुकमा कमै मात्र छन् ।

वि.सं. १९९८ सालमा सप्तरी सदरमुकाम हनुमाननगरबाट राजविराज सारियो । स्थापनाको लगभग १० वर्षपछि मात्र राजविराजले बजारको रूप लिएको हो । वि.संं. २०१६ सालमा सरकारले राजविराजलाई नगरपालिका घोषणा गरयो । मुलुकमै अति पुरानो मानिए पनि यसको यथोचित विकास भने हुन सकेको छैन ।

राजविराज नगरपालिका क्षेत्रभित्र समेत पर्यटनको प्रबल सम्भावना छ । राजविराज नगरपालिका भित्र राजदेवी मन्दिर, भगवती मन्दिर, वैष्णवी काली मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, राम मन्दिर, गणेश मन्दिर, चित्र गुप्त मन्दिर, महादेव मन्दिर, हनुमान मन्दिर, बागेश्वरी मन्दिर, जामे मस्जिद, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जैनश्वेताम्वर तेरापन्थी भवन, डिहवार थान (डिहवार थान) जस्ता ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका धार्मिक स्थलहरू रहेका छन् । यति मात्र होइन, राजविराज नगरपालिका भित्र दर्जनौं पोखरीहरू पनि छन् । उक्त पोखरीहरूको सरसफाइ गरी पर्यटकलाई लोभ्याउन बोटिड्ड सुविधा उपलब्ध गराए आन्तरिक पर्यटन विकासमा ठोस टेवा पुग्न सक्ने देखिन्छ । यद्यपी पछिल्लो समय नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गको प्रयासमा भगवती पोखरीलाई पर्यटकीय पोखरीको रुपमा विकास गर्न थालिएको छ । वैष्णवी काली मन्दिर पोखरीलाई समेत समुचित व्यवस्थापन गर्न सकिए नगरको रौनकता बृद्धि हुने निश्चित छ ।

दशन चौक

यसैगरी नगरपालिका भित्रै रहेको रङ्गशालाले समेत नगरपालिकाको मात्र नभई जिल्लाकै शान बढाउने काम गरेको छ । उक्त रङ्गशालामै खेलेर यहाँका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका छन् । तर, यस रङ्गशालाको यथोचित विकास हुन सकेको छैन । रङ्गशालालाई व्यवस्थित गरी राष्ट्रिय स्तरको खेल मैदानको रूपमा विकसित गरिए मुलुकको विभिन्न जिल्लाहरूबाट सप्तरी जिल्लामा खेलाडीहरू भित्र्याउन सकिन्छ । नगरपालिकामा अवस्थित जिल्ला हुलाक कार्यालय परिसरमा रहेको पत्र–मञ्जुषा नेपालमै सवभन्दा ठूलो मानिन्छ । राजविराज नगरभित्र रहेको लक्ष्मीनारायण राधाकृष्ण मन्दिर पूर्वाञ्चलकै ठूलो एवं भव्य मन्दिर मानिन्छ ।

नगरको मुटु मानिने तत्कालीन त्रिभुवन चौकलाई हाल गजेन्द्र चौकको समेत अझ आकर्षक बनाउनु आवश्यक छ । मधेस आन्दोलनका प्रणेता स्व.गजेन्द्रनारायण सिंहको प्रतिमा स्थापित उक्त चौकको साजसज्जातर्फ ध्यान दिनुका साथै विद्युतीय पानी–फोहरा लगाइए नगरको शोभा बढ्ने निश्चित छ ।

यसैगरी तत्कालीन महेन्द्र पार्क शालिक मधेस आन्दोलनताका (२०६३/०६४) भत्काइएपछि उक्त पार्कको नाम सहीद शाकेत मिश्र पार्क राखिएको छ गत विगतमा मनोरम एवं  हरियाली पार्कको रूपमा रहेको थियो । यद्यपी नगरपालिका सुन्दर बनाउने प्रयास गरे पनि पर्याप्त रहेको छैन ।

शहिद पार्क

 

 

यस्तै तत्कालीन पञ्चायती स्तम्भ नेता चौकको नाम २०६२/०६३ को जनआन्दोलनताका परिवर्तन गरी लोकतान्त्रिक सहिद दसन यादवको नामबाट दसन चौक राखिएको छ । यद्यपि यसको मर्मत सम्भार तथा व्यवस्थापनतर्फ सम्बन्धित निकायको चासो नरहेका कारण नगरको सौन्दर्यतामा समेत असर पारेको छ ।

यी त भए नगरपालिका अन्र्तगत पर्ने पर्यटनको सम्भाव्यता सम्बन्धी सामान्य जानकारी । नेपालमै ऐतिहासिक एवं विशिष्ट महत्व बोकेको जिल्लाको रूपमा परिचित सप्तरीमा विभिन्न स्थलहरू रहेका छन् । ती स्थलहरूको विकास गर्न सकिए आन्तरिक एवं बाह्य पर्यटन गन्तव्य स्थलको रूपमा विकास गर्न सकिन्छ ।

श्रोतः‘हाम्रो सप्तरी’ पुस्तकबाट (लेखकः श्यामसुन्दर यादव), न्यूज टुडेमा प्रकाशित

About Shyamsundar Yadav

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।