धार्मिक एवम् पर्यटकीय गन्तव्य शनिदेव स्थल

धार्मिक एवम् पर्यटकीय गन्तव्य शनिदेव स्थल

‘जहाँ ग्रहका दशा मेटिनुका साथै मनोकामना पूर्ण हुने विश्वास गरिन्छ’

सप्तरी जिल्लाको रुपनी गाउँपालिका वडा नम्वर–६ स्थित तेरहौतामा अवस्थित छ धार्मिक पर्यटकीय गन्तव्य शनिदेव स्थल । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत रुपनी बजारदेखि करिब तीन किलोमिटर पूर्वमा पर्ने बिरेन्द्र बजारदेखि ३ किलोमिटर उत्तरतर्फ पहाडको टाकुरामा शनिदेवको स्थल रहेको छ । यहाँ समीको रुख मुनि कालो पत्थरको शनिदेवको मूल प्रतिमा स्थापित छ । यसका साथै मूल मूर्तीदेखि अलि माथि शिवलिङ्गका साथै बसहाको मूर्ती बनाईएको छ ।

उत्तर दुधैला र धारा खोलाको बीचको टापुमा रहेको शनि धाम प्राकृतिक सौदर्यता तथा धार्मिक जनविश्वासका कारण यो क्षेत्रको महत्व बढ्दैगएको छ । त्यसो त जङ्गलको हरियाली, चराचुरुङ्गीको बोलीका साथै अदुभूत प्राकृतिक छटाले जो कोहीलाई लोभ्याउँछन् ।

वि.सं. २०५६ साल चैत्र ५ गते सपनामा समीको रुख देखेर खोजी गर्ने क्रममा फेला परेपछि सफा गरेर पूजाआजा गर्न थालिएको पंडित सत्यनारायण साहको भनाइ छ । समीको रुखको जराले बेल, खुर्सानी, अमरा, फूल, धाप, गजहर, संधानका रुखलाई चारैतिरबाट बेरिएकोले सात बृक्षको सङ्गम स्थानमा पूजा गर्नाले शनि दशाबाट मुक्ति पाईने जनविश्वास रहेको छ ।

श्यामसुन्दर यादव

शनिदेव स्थलमा सात शनिबार लड्डु, सुपारी, फलफुल, अगरबत्ती, फलामको दीयो, द्रब्य, कालो मासको दाल, तील, अक्षता, रक्तचन्दन, तेल, सेतो दुबो सहितका ७ वटा पूजा सामग्री र कालो धागो, कालो कपडाले सात शनिबार दर्शन गरेमा शनि ग्रह दशाबाट छुटकारा पाउनुको साथै आफुले सोचेको मनोकामना पुरा हुने विश्वास गरिन्छ ।

कम्तिमा तीन शनिवार जानैपर्ने अनिवार्यता रहेको छ । शनिदेव धामका अर्का पूजारी शिबजी यादवका अनुसार शनि ग्रहबाट मुक्ति पाउने विश्वासका साथ शनिदेव स्थलमा महायज्ञ, अष्टयाम लगायतका धार्मिक अनुष्ठानहरु समेत बेलाबेलामा हुँदैआएकोे छ ।

शनिदेवमा पंडित साहका भाइ रामनारायण साहको सहयोगमा श्रीकृष्ण दल गणका नेपाली सेनाको जनश्रमदानबाट १०८ वटा शिवलिङ्ग र कलात्मक मुर्ती २०७३ सालमा निर्माण गरिएको छ । शुरुमा एकदमै विकट रहेको उक्त स्थानमा सर्वसाधारणको आवत–जावत बढेपछि नेपाली सेनाको टोलीले त्यही अस्थायी शिविर राखेर मूर्तीका साथै अन्य निर्माण कार्य सम्पन्न गरेको पूजारी भूपेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् ।

हाल मन्दिरमा पञ्चमुखी महादेव, रुखको फेंदमा शनिको प्रतिमा लगायतका वरिपरि एक दर्जन मुर्तीहरु समेत रहेका छन् । खासगरी शनिवारका दिन रमणिय वातावरण तथा मनमोहक दृष्यले भरिपूर्ण यस स्थानमा आनन्द लिनका लागि धरान, इटहरी, विराटनगर, राजविराजका साथै भारतको पूर्णिया, अररिया, मधुवनी, सहरसा लगायतका स्थानहरुबाट पर्यटक आउने गरेकोले स्थानिय व्यवसायीहरु पनि खुशी भएका छन् । शनिवार बाहेक अन्य दिन समेत बनभोज मनाउन तथा दर्शन एवम् घुमघाम गर्न पर्यटकहरु आउने गर्छन् ।

मन्दिरको स्तरोन्नती र धार्मिक पर्यटनको रुपमा विकास गर्न रुपनी गाउँपालिकाले गत वर्ष १० लाख बजेट विनियोजन गरेकोमा विभिन्न कारणले ७ लाख मात्र खर्च गर्न सकेको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोबिन्द सिह थापा मगरले बताए । यद्यपी रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले स्थलगत रुपमै उक्त स्थलको अवलोकन गर्दै शनिदेव स्थललाई शनिधामको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको उक्त स्थलकालागि विशेष बजेटको व्यवस्था गरी सुविधा सम्पन्न बनाउने उनको भनाइ छ ।

दैनिक पर्यटक तथा भक्तजनहरुको आवागमन अत्यधिक हुने गरिएकोले मन्दिरसम्म पुग्ने बाटो अझैं सहज हुन सकेको छैन । पहाडको टाकुरामा रहेका कारण मन्दिरको संरक्षण तथा बाटो र मन्दिर वरिपरीको क्षेत्रमा घेरबेर गर्न नसकिएकोले पर्यटक तथा भक्तजन दुर्घटनामा पर्न सक्ने खतरा रहेकोले यसतर्फ सम्वन्धित निकायको अविलम्ब ध्यान केन्द्रित हुनु आवश्यक छ । यस अतिरिक्त उक्त क्षेत्रमा युवायुवतीको समेत आकर्षण बढ्दै गएकोले सम्भावित विकृतिहरुलाई रोक्नकालागि सुरक्षा व्यवस्था मिलाउनुपर्ने उत्तिकै जरुरी छ । शनिदेव क्षेत्रलाई थप व्यवस्थित गर्न सकिए रुपनी गाउँपालिका मात्र नभई समग्र जिल्लाको विकास तथा समृद्धिमा मद्दत मिल्ने निश्चित छ ।

About Shyamsundar Yadav

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।