जनता समाजवादी पार्टी एकतामा डा. बाबुराम भट्टराईको चर्चा किन धेरै?

जनता समाजवादी पार्टी एकतामा डा. बाबुराम भट्टराईको चर्चा किन धेरै?

राजेश विद्रोही ।

डाक्टर बाबुराम भट्टराईको जादुको छडी देखेर यतिबेला धेरै मान्छेहरु बौलाएका छन् । तथानाम गाली गर्दै हिंडेका छन् । जसको कुनै सिमा छैन् । अहिले पनि मधेसीलाई पहाडी शासकहरुले दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गर्दै छन्, डाक्टर बाबुराम भट्टराईलाई पनि त्यही नजरले हेर्दैछन् । लाग्छ उनीहरुलाई अब बाबुराम केही पनि होइन । जे थियो हिजो मात्र थियो । जतिबेला उनी यो भद्दा सरकारको केही महत्त्वपूर्ण जिम्मेवारीमा थिए ।

लामो कसरतपछि समाजवादी र राजपाको एकता निष्कर्षमा टुंगिएको छ । २५ गते विधिवत् रुपमा जनता समाजवादी पार्टी ( जसपा ) भएको छ । दलदर्ता भइसकेपछि विभिन्न रुपमा टीकाटिप्पणीहरु आईरहेको छ । जुन स्वभाविक छ । खासगरी यो पार्टी एकतामा डाक्टर बाबुराम भट्टराईक‍ो चर्चा बढी छ । कसैले बाबुरामलाई ठूलो त्याग र अग्रगामी चेतका रुपमा लिएका छन्, भने कसैले राजनीतिक रुपमा कहिले नउठ्नेगरी सकिएको रुपमा लिई रहेका छन् । मान्छेहरूले भने जस्तै के बाबुराम सकेकै हो ? कि देशमा बाबुरामले केही गर्न खोज्दैछन् ? यो गम्भीर विषय हो । यसलाई कम्जोर ढंगले आँक्नु हुँदैन ।

बाबुराम अहिलेको त्यागी मान्छे होइन । बाबुराम सुरुदेखिकै त्यागी मान्छे हुन । अनि विचारका दृढ । र त उनी बाबुराम । उनै बाबुराम आफ्नो पिएचडीलाई तिलान्जली दिएर जनयुद्धमा होमिए । सायद यतिबेला बाबुरामसँग त्यो पिएचडीको सर्टिफिकेट खोज्ने हो भने भेटिने छैन् होला । विगतको राजनीतिक यात्रा त्यसपछि माओवादी हुँदै मधेस केन्द्रित राजनीति सम्म आईपुग्दा  बाबुरामको ठूलो राजनीतिक त्याग र समर्पण छ । त्यो त्याग र समर्पण बाबुरामको लागि होइन । मुलुकको विविधतायुक्त समाज र त्यसकिसिमको राजनीतिक सता र सरकार निर्माणको लागि हो भन्ने कुरा अब सहजै अनुमान गर्न सकिन्छ ।

मधेस राजनीति जुन अप्ठ्यारोमा फसेका थिए त्यो अप्ठ्यारोबाट उम्केको छ । नयाँ फड्को मार्न सफल भएको छ । यो एकता अभियानलाई जसपाले सफल पार्नै पर्छ । जसपा अरु राजनीतिक दलभन्दा फरक बन्नै पर्छ । फरक त्यो हिसाबले बन्नुपर्छ जुन हिसाबको राजनीतिक आवश्यक्ता मुलुकले खोजेको छ । तराई मधेस र हिमाल पहाडको वास्तविक एकतालाई जोड्नैपर्छ । अनि मात्र यो एकताको वास्तविकता झल्किनेछन् । नभए नयाँ बोतलमा पुरानो रक्सीको कथा जस्तै हुनेछन् ।

मधेसी नेतृत्वको एकताले मुलुकको धेरै आवश्यकता पुरा गर्नुपर्ने छ । जुन आवश्यकता माथि केही पहाडी शासकहरुले आफ्नो निहित स्वार्थपूर्तिका लागि प्रयोग गर्दै आएका छन् । त्यसैले यो एकता मधेसीको एकता मात्र होइन । पहाडीको एकता पनि हो । मधेस पहाडलाई जोड्ने राजनीतिक एकताको अभियान हो । तराई मधेस, हिमाल पहाडीको विविधतालाई जोडेर नयाँ राष्ट्रियएकताको इतिहास रच्ने कोसेढुंगा हो । त्यसैले मधेसी नेताहरुले बाबुरामबाट त्याग र समर्पण त लिए । तर, उनीहरुको पनि त्याग र समर्पणको दिन आईसकेको छ । यसका लागि उनीहरु तयार छन् ?

परिवर्तनमुखि राजनीतिक आन्दोलनमा पदप्रतिष्ठा सहायक कुरा हुन्, मुख्य कुरा त सहि राजनीतिक कर्यदिशा र दृष्टिकोण नै हुन् । जसमा वास्तविक समाज अडेका छन् । आगामी दिनमा र निर्वाचनमा मधेसभित्रका दलित महिला लगायतका सिमान्तकृत वर्ग र समुदायलाई ठाउँठाउँबाट प्रत्येक्ष निर्वाचित गराउने देखि समानुपातिक प्रणालीलाई सतप्रतिशत प्रयोग गर्ने, राज्य र सरकारको बैधानिक कुर्सीमा उल्लेखनीय रुपमा सहभागी गराउने र आफ्नो अधिकार आफ्नै समाजमा स्थापित गर्न लगाउने, पार्टीभित्र काखा पाखा नगरी सक्षम दलित महिला लगायतका नेतृत्वलाई अगाडि ल्याउने र वैकल्पिक नेतृत्वको रुपमा स्थापित गर्ने जस्ता जोखिमपूर्ण काम जसपाले गर्नुपर्छ । त्योसो गर्न सकिएन भने यो राजनीतिक एकता र अभियानको अर्थ रहँदैन ।

त्यसैले बाबुराम र बाबुरामको त्यागबाट जसपाका अन्य नेतृत्वहरुले पाठ सिक्नैपर्छ । मधेस राजनीतिको एकताबाट दुनियाँ चकित छन् । र, उनीहरू विभिन्न आरोप लगाईरहेका पनि छन् । प्रयास गरे दुनियाँमा असम्भव केही पनि छैन् भने कुराको सन्देश एकताले दिएको छ । जसरी मधेसमा बाबुराममाथि ठूलो शंका थियो । पटकपटकको बाबुरामको त्याग, समर्पण र प्रयासले यतिबेला सबैकुरा किनारा लागेको छ । जसरी खस शासकहरुले मधेसलाई चिडाएको थियो त्यसरी नै बाबुरामले आफ्नो हातबाट त्यो हैसियत दिलाउन सफल भएका छन् ।

धेरैले यो एकतालाई दिगो रुपमा लिन अहिले पनि हिचकिचाई रहेका छन् । र, उनीहरु नाटकको संज्ञा दिइरहेका छन् । तथापि अरु राजनीतिक दललाई चुनौती थपिदिएका छन्, यो एकताले । र, नेकपालाई पनि चुनौती थपिदिएकाछन् । मधेसमा उत्पीडित समुदायको नेतृत्वलाई स्थापित गर्ने जिम्मेवारी पनि मधेसी नेतृत्वहरुको काँधमा आएको छ । जसरी बाबुरामले त्याग र समर्पण गरे । आफ्नो इमानदारीपूर्वक भूमिका निर्वाह गरे त्यसरी नै अव उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतकाले मधेसका उत्पीडित वर्गको हातमा नेतृत्व स्थापित गर्ने भूमिका निर्वाह गर्नुपर्छ । मधेसमा यही प्रश्न यतिबेला उठिरहेका छन् कि बाबुरामले त देखाए अनि उनीहरुले चाहि कहिले देखाउने ? के यसकालागि पनि मधेसी नागरिकले समय पर्खिनु पर्छ ?

About राजेश विद्रोही

विद्रोही जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।