गंगा श्रेष्ठद्वारा लिखित ´मध्यपहाड यात्रा` लाई फर्केर हेर्दा

गंगा श्रेष्ठद्वारा लिखित ´मध्यपहाड यात्रा` लाई फर्केर हेर्दा

राजेश विद्रोही ।

इतिहास आफैमा कठोर हुन्छ । हरेक व्यक्ति इतिहासको सारत्व हुन् । फरक यतिमात्र हुन् कसैले लेखेर इतिहासलाई जीवित पार्छन् । कसैले बलिदान गरेर इतिहासलाई जिवित राख्छन् । दशवर्षे जनयुद्ध  र जनआन्दोलनबाट मुलुकमाले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे । गाउँदेखि शहरसम्म आफ्नो मुक्ति र अधिकारको लागि लड्नुपर्छ भनेर हरेक नागरिक राजनीतिक रुपमा सचेत बने । त्यो शक्ति प्राप्त गर्न नागरिकले ठूलो त्याग, तपस्या र बलिदान गरे । एउटा गर्भवती आमाले आफ्नो सन्तान प्राप्तिका लागि जति दुख कष्ट गर्छिन्, त्यो भन्दा कम पीडाको आन्दोलन थिएन दशवर्षे जनयुद्ध । त्यसैको पृष्ठभूमिमा जन्मिएका एक अबल नेता तथा साहित्यकार हुन् गंगा श्रेष्ठ । उहाँकै अबल हात र मस्तिष्कबाट कोरिएका हुन् पुस्तक ´मध्यपहाड यात्रा` । जुन सबैकालागि पठनीय रहेको छ ।

जसरी जनयुद्धले मुलुकको व्यवस्था र आवश्यकतालाई परिवर्तन गरिदिए त्यसरी नै थाँती रहेका बाँकी सपनाहरू सकार पार्न डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको निर्माण भयो । बैकल्पिक राजनीतिक शक्तिलाई जनताको घरदैलो सम्म पुर्याउन र जनताको भावनालाई जोड्ने क्रममा ´चिवाभन्ज्यांग देखि झुलाघाटसम्म मध्यपहाडको यात्रा` शुरु भएको देखिन्छ । यात्राको क्रममा विभिन्न किसिमको दुख, पिडा र अभावसँग जनयुद्धकालमा झैं पौठेजोडी खेलेको क्षणलाई लेखकले राम्रोसँग सम्झेका छन् । र, वर्णन गरेका छन् । मुलुकले गणतन्त्र पायो । तर, नफेरिएको नागरिकको जीवनले के पायो ? मध्यपहाड लगायतका पहाडी भूगोलसँग भौतिक कष्ट उठाइरहेका त्यहाँका जनतासँग गरिएको साक्षात निकै मार्मिक र सान्दर्भिक हिसाबले पुस्तकमा समेटिएका छन् ।

तेह्रथुमको चिवाभन्ज्यांगबाट सुरु भएको एकमहिने लामो यात्रामा पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, अोखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायत विभिन्न महत्त्वपूर्ण ठाउँहरु त्यसपछि पश्चिमका बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, डोटी, लगायतका जिल्लाहरुमा  भ्रमण गर्दाको क्रममा आफूले देखेको र भोगेको यथार्थलाई सजीव ढंगले वर्णन गरेका छन् । यात्राको क्रममा आफ्नो ग्रुपले भोगेको कठिनाइ र बाटो काट्दा  बीचबीचमा आइपरेको भौतिक चुनौतीहरुलाई मार्मिक ढंगले प्रस्तुत गरेका छन् भने प्राकृति सौन्दर्यतालाई रमनीय ढंगले चित्रण गरेका छन् । जनताहरुसँगको सम्वाद र जनताको घरदैलोमा बसेर भोगेको सामूहिक जीवनलाई झन् रोचक तरिकाले राखेका छन् । यसले विगतको जनयुद्धलाई नजिकबाट नियाल्न निकै सहज देखिन्छन्, भने जनयुद्धको सम्झनालाई ताजा बनाई दिएका छन् भने नामेट इतिहासको रुपमा पुस्तक खडा छन् ।

युग परिवर्तन गर्नका लागि जनयुद्धमा समर्पित भएका गंगा श्रेष्ठको यो एघारौं कृति हो । यो पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेका हुन् । २१९ पृष्ठका यो पुस्तकको मूल्य ३७५ रुपैया राखिएको छ ।

 विधार्थी जीवनदेखिनै राजनीतिक जीवनको सुरुवात गरेका श्रेष्ठ पाँचवर्ष जेलजीवन समेत भोगेका छन् । जनयुद्धका विभिन्न फौजी कार्वाहीमा समेत संलग्न छन् । नेपालको राजनितीलाई नजिकबाट नियालेका छन् । पुस्तकमा जनयुद्ध गणतन्त्र प्राप्तिको मुख्य उदेश्य भएकोले त्यो प्राप्त भएको र बाँकी प्राप्तिका लागि नयाँ राजनीतिक अभियानमा होमिएको कुरा प्रष्ट छ । त्यो राजनीतिक उदेश्य प्राप्त गर्न निकै चुनौतीपूर्ण रहेको भावना पनि व्यक्त गरिएका छन् । राजनीतिक उतरावचढावको विषयलाई पनि ठाउँठाउँमा राम्रो ढंगले घोचेका छन् । यसबाट प्रष्ट हुन्छ कि अनुभवको हिसाबले गंगा श्रेष्ठ साच्चै एउटा गंगा सागर नै हुन् । जसले पाठकको मनलाई तानिएको छ । यो पुस्तक नपढी नहुने बनाईएको छ ।

यात्राको क्रममा गरेका अनुभव र भोगेको भोगाइलाई यति सुक्ष्म र सुन्दर ढंगले उठान गरेका छन् कि समाजिक जीवनलाई बुझ्न सरल बनाई दिएका छन् । त्यसैले यो पुस्तक यात्रा संस्मरणको रुपमा सावित हुन पुगेको छ । पुस्तक पढ्दै जाँदा लेखमा लुकेको राजनीतिक नैतिकता, साहित्यिक, बौद्धिकता र देशप्रेमको भावना मजबुत रुपमा देखिएका छन् ।  त्यसैले लेखकलाई एक इमानदार लेखक तथा राजनीतिज्ञको रुमाल लिदा उपयुक्त हुन्छ । अन्तमा यस्तै समाजिक र राजनितीक धरातलमा उभिएर थप र परिस्कृत कृतिहरु आगामी दिनमा पढ्ने मौका पाउ भन्दै अग्रिम शुभकामना ।

About राजेश विद्रोही

विद्रोही जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।