सांस्कृतिक क्रान्तिको मूल आधार अन्तरजातीय प्रेम विवाह

सांस्कृतिक क्रान्तिको मूल आधार अन्तरजातीय प्रेम विवाह

राजेश विद्रोही ।

हरेक नागरिकलाई स्वतन्‍त्र रुपमा बाँच्ने नैसर्गिक अधिकार छ । मुलुकको कानुनले पनि त्यो व्यवस्था गरेको छ । तर, हाम्रो जस्तो मुलुकमा नैसर्गिक अधिकारमा माथि पनि प्रतिबन्ध छ । समाजिक, आर्थिक र राजनीतिक रुपमा समेत घेराबन्दी छन् । यतिसम्म कि लोकतान्त्रिक युगमा पनि पुरानै रुपमा बाँच्नुपर्ने बाध्यता छ । यो सबै खाले विकृति र विसंगतिको मूल समस्या भनेको समाजिक सांस्कृतिक समस्या हुन् । जसलाई हामीले तिलान्जली दिन सकेको छैन् । कुनै न कुनै रुपमा हाम्रो व्यावहारमा अझै पनि लुकेर बसेका छन् । जसले गर्दा मानिसहरुलाई समाजमा बाँच्न अझै पनि चुनौतीहरु छन् ।

एउटा मानव भएर बाँच्न पनि चारैतिरबाट काँडेतारहरु बिछ्याइएका छन् । व्यक्तिको निजी स्वतन्त्र अधिकारहरुमा समेत प्रतिबन्ध छन् । हाम्रो समाजिक परम्परागत संस्कार र संस्कृतिमा कुनै फेरबदल देखिदैन । रुप र शब्दमा परिवर्तन देखिए पनि सारमा विभेद र उत्पीडनको कहिरन जीवितै छन् । जसले समाजको युगसापेक्ष परिवर्तनलाई ठाडो चुनौती दिएका छन् । समाजमा विभिन्न घट्ना परिघट्नाहरु घटिरहेका छन् । दिनप्रतिदिन विभेदमा बाँच्ने मानिसहरुको जीवन कहालिलाग्दो छ । जसलाई शब्दमा वर्णन गर्न सकिदैन ।

समाजमा हजारौं वर्षदेखि जडा गाडेर रहेको पुरानो निरंकुश सामन्ती राज्यव्यवस्था र सबैखाले समाजिक विभेदका विरुद्ध २००७ सालदेखि मुलुकमा घनिभूत रुपमा परिवर्तनमूखि राजनीतिक आन्दोलनहरु हुँदै आएको छन् । २०१७, २०४६, २०५२ र २०६२/६३ सम्म आईपुग्दा हजारौंले रगतको खोलो नै बगाए । ती सबै राजनीतिक आन्दोलन र क्रान्तिले व्यवस्थाहरु चेन्ज गर्दै आए  तर, मुलुकको अवस्थालाई चेन्ज गर्न सकेनन् । समाजिक सांस्कृतिक क्रान्तिका आधार अस्तम्भहरु भत्काउन सकेनन् । त्यसको ठाउँ नयाँ समाजिक सांस्कृतिक आधार स्तम्भहरु निर्माण गर्न सकेनन् । परिणामत: अहिलेसम्म उत्पीडित र श्रमजीवी वर्गका लागि समाजिक जीवन कष्टकर नै छन् । यो नै सबैभन्दा ठूलो दुखद विषय समाजको हो । जसबाट समाज पटकपटक उन्मुक्ति चाहन्छ ।

यतिबेला सबैभन्दा डरलाग्दो घट्नाहरु दलित समुदायमा घटिरहेका छन् । ति समुदायका मानिसहरू संसारको जुनसुकै ठाउँमा भए पनि त्यो विभेदबाट मुक्त छैन् । लुकेर कति दिन बस्ने ? ढाट छल गरेर कति दिन टिक्ने ? धेरै दिनसम्म टिक्यो भने आफ्नो पुस्तासम्म हो त्यसपछि नयाँ पुस्ताको हालत फेरि त्यही दोहरिन पुग्छ । यसरी मान्छे आफ्नो संघर्षको वास्तविक कर्मपथबाट पछि हटेर कहिलेसम्म बाँच्ने ? त्यसैले मान्छेको जीवन नै संघर्ष हो । त्यसमा पनि विभेदमा पारिएका समुदायका लागि यो धेरै ठूलो संघर्ष हो ।

कसैले अधिकार मागेर दिदैन् । अधिकार त खोसेर लिने कुरा हो । इतिहास साक्षी छ । त्यसै मुलुकमा राणा र राजाहरुको अन्त्य भएको होइन । उनीहरुबाट जनताले खोसेर आफ्नो अधिकार लिएका हुन् । मुलुकमा पटकपटक व्यवस्था चेन्ज त्यसै भएको होइन । देशमा आएको संघीय गणतन्त्र पनि त्यसै आएको होइन । यसमा जनताको धेरै ठूलो त्याग, तपस्या र बलिदान छ । पीडाको आक्रोस र अभिव्यक्ति जति मिठो हुन्छ त्योभन्दा सयौंगुणा तितो संघर्ष र बलिदानले दिन्छ । त्यतिबेला महसुस हुन्छ, एउटा महिलाले आफ्नो सन्तानको जन्म कसरी दिन्छे ? र, ती सन्तानले हाँसीहाँसी बलिदान गर्दा ति आमाको आत्मा कति शक्तिशाली हुन्छ ?

यहाँ पंक्तिकारले भन्न खोजेको विषय के हो भने हरेक मान्छेको जन्म, विवाह र मृत्यु अनिवार्य सर्त हुन् । यसमा कसैको हस्तक्षेप हुनुहुँदैन । अनिमात्र समाजको नयाँ ऐना फेरिन्छ । यसमा कुनै पनि अंकुश लगाउनु भनेको मानवअधिकारको ठूलो उलंघन हो । तर, हाम्रो समाजले बुझेर पनि नबुझे जस्तै गर्दै हिंडेका छन् । देशमा पनि त्यसकिसिमको पलोसी छैन् । त्यो भनेको वर्ग र वर्ण विभाजित समाजको परिणाम हुन् । जन्ममा अंकुश, विवाहमा अंकुश, मृत्युमा अंकुश यसरी अंकुशहरु लगाए मावन जीवनलाई ठूलो प्रतिबन्ध लगाइएको छ । विगतमा कानुन बनाएर जात व्यवस्थालाई प्रोत्साहन गरे । अहिले पनि राज्यले नागरिकको चेतनास्तर उठाउन त्यसकिसिमको शिक्षा, दिक्षा र चेतनामूलक अभियान चलाउनुभन्दा त्यसलाई नियन्त्रण गर्ने नाममा कानुन बनाएर थप जर्जर अवस्थामा पुर्याइन्छ ।

हाम्रो समाजको धरातलमा जडा गाडेका विभिन्न खालको धर्म, जात, लोवाइ, खुवाई, पहिरन, विवाह, पर्व , वर्त, भेषभुषा, भाषा, रहन सहन लगायत सबै हाम्रा समाजि परम्परा र संस्कृतिहरु हुन् ।

यतिबेला मुलुकमा देखिएको जात व्यवस्था सबैभन्दा खतरनाक रुपमा देखिएको छ । यो समाजको सबैभन्दा ठूलो सांस्कृतिक विचलन हो । संस्कृति भनेको विगतमा राजनीतिक दलहरुले चलाएको मंचको गीतसंगित र नाचगान होइन । हाम्रो समाजको धरातलमा जडा गाडेका विभिन्न खालको धर्म, जात, लोवाइ, खुवाई, पहिरन, विवाह, पर्व , वर्त, भेषभुषा, भाषा, रहन सहन लगायत सबै हाम्रा समाजि परम्परा र संस्कृतिहरु हुन् । यसमा धेरै संस्कृत समाज विकासका लागि महत्वपूर्ण छन् भने धेरै समाजिक सदभाव खलबलाउने र विगार्ने खालको छ । जसलाई तोडेर नयाँ र युगसापेक्ष संस्कार र संस्कृतिको जग बसाल्नुपर्ने छ । तर, यतिबेला सबैभन्दा टड्कारो रुपमा देखिएको जात व्यवस्था हो । त्यो पनि समाजिक संस्कार र संस्कृतिसँग जोडिएको छ । जसलाई तोड्न सबै समुदायको युवाको खाँचो पर्छ ।

अहिलेसम्मको परिवर्तनको वाहक युवा शक्ति नै हो । त्यसैले युवाहरूलाई त्यो अभियानमा जोड्न युवाको मोराल बुझ्नुपर्छ  । युवाहरुको महत्वाकांक्षालाई सम्बोधन गर्नुपर्छ । त्यो भनेको पैसाले जोड्ने होइन । सकिदैन पनि । अहिलेको युगमा हरेक स्कुल र कलेजहरुमा रहेका सचेत युवाहरुले जन्म पछिको आफ्नो विवाहलाई स्वतन्त्र रुपमा बदल्न चाहन्छन् । तर, पारिवारिक र समाजिक कारणले अधिकांश युवाहरूको प्रेमसम्बन्ध विछोडमा टुंगिरहेका छन् । त्यसैले समाजिक परिवर्तनको सबैभन्दा ठूलो अभियान हुन सक्छ सांस्कृतिक क्रान्ति । अहिलेको विभिन्न घट्ना क्रममले संसारले नै सांस्कृतिक क्रान्तिको मांग गरिरहेको अवस्था छ । त्यसको नेतृत्व हामीले नेपालबाट गर्यो भने संसारकै सांस्कृतिक क्रान्तिको नेतृत्व गर्न सक्छौ । र, हाम्रो मुलुक लगायत दक्षिण एसियामा रहेको जातव्यवस्थालाई जडैदेखि सदाको लागि फाल्न सक्छौ । र, संसारकै मानवरुपी सभ्य समाजको निर्माण हामीले गर्न सक्छौ । त्यसैले हामी सबै नयाँ पुस्ताका युवाहरुले – ´सांस्कृतिक क्रान्तिको मूल आधार अन्तरजातीय प्रेमविवाह` लाई आत्मसात गरौं । सांस्कृतिक क्रान्तिको बाटोमा अधि बढौं ।

About राजेश विद्रोही

विद्रोही जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।