देश समृद्धिको प्रयास असन्तुष्टि र विद्रोहको ज्वाला बिच कदापि सम्भव हुँदैन: शैलेन्द्र साह

देश समृद्धिको प्रयास असन्तुष्टि र विद्रोहको ज्वाला बिच कदापि सम्भव हुँदैन: शैलेन्द्र साह

स्वायत्त, स्वशासित र आत्मनिर्णयको अधिकारसहित सार्थक मधेश प्रदेश अर्थात् औचित्यपूर्ण र सार्थक संघीय संरचनाका लागि हामीले इतिहासका विभिन्न कालखण्डमा संघर्ष र विद्रोहमा आधारित राजनीतिक शैली अवलम्बन गर्दै आएका छौं । समानतामा आधारित शासन प्रणाली स्थापना लागि गरिएका शृंखलाबद्ध विद्रोहमा ज्यानसमेत उत्सर्ग गरेर हामीले अधिकार प्राप्तिको अदम्य तथा निर्विकल्प चाहना अभिव्यक्त गर्दै अघि बढेका छौं । देशमा विद्यमान परम्परागत विभेद, उत्पीडन र बहिष्करण जस्तोसुकै करबल र छलछामले अब कुनै पनि हालतमा पुस्तान्तरण हुन सक्दैन भन्ने हाम्रो चेतना तथा विद्रोहले एउटा आकार ग्रहण गरेपछि देशमा संघीयताको अवधारणा स्थापित भएको छ । र, विगतमा मधेशी, आदिवसी, जनजाति, दलित, मसस्लिमलगायत अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका मागलाई बेवास्ता गर्दैआएका अनुदार एवं असहिष्णु राजनीतिक शक्तिको दुराशयपूर्ण र विपथगामी सोच परास्त हुँदै गएको छ ।

सामन्त र शोषणमा आधारित समाजमा मर्यादा, प्रतिष्ठा र अधिकारका लागि गरिने संघर्षको प्रतिफल रातारात प्राप्त हुँदैन ।

एउटा कष्टपूर्ण र पीडादायी बाटो भएर गुज्रिनुपर्ने हुन्छ । सडकबाटै परिवर्तन ल्याउने इतिहासको सबैभन्दा कठिन परीक्षामा हामी मधेशी जनता सदैव अब्बल रहँदै आएको छ । अधिकारप्राप्तिको लडाइँप्रति हाम्रो अतुल्य निष्ठा र असंदिग्ध प्रतिबद्धता नै हो जसले गर्दा हामी सडक–संघर्षमा अग्रपंक्तिमा जस्तोसुकै जोखिम मोल्न तयार अवस्थामा रहने गर्दछौं ।

विगतका मधेश आन्दोलनबाट प्राप्त संघीयता अहिले कार्यान्वयनक्रममा छ । अहिलेको प्रादेशिक संरचना हाम्रा लागि एउटा सामान्य शासकीय स्वरूप वा सत्ता सञ्चालनको एउटा राजनीतिक पद्धतिमात्र होइन । आफ्नो हकअधिकार पाउने सशक्त माध्यम पनि हो । त्यसैले संघयीताको बोध र अभ्यास हाम्रा लागि अत्यन्त गम्भीर र संवेदनशील मुद्दा पनि बनेको छ । हामी अहिलेको प्रादेशिक संरचनाको उत्तम अभ्यासबाट ‘सम्पूर्ण अधिकार’ प्राप्त गर्न चाहेकै हौं । यसका लागि अहिलेको संविधानमा विद्यमान कमीकमजोरी निर्मूल पार्दै जनआकांक्षा प्रतिध्वनित हुने संविधान आउनुपर्ने मान्यताबाट परिचालित र नियन्त्रित छौं । यो हाम्रो राजनीतिक कार्यनीति मात्र नभएर हृदयको आवाज पनि हो । यस आवाजलाई बुलन्द पार्न हामी संघर्षका कठिनतम चरण पार गरेर यहाँसम्म आइपुगेका छौं । संघीय र प्रादेशिक सरकारमा सहभागी भएर संविधान संशोधनका लागि भगीरथ प्रयत्न गर्ने जनादेश हाम्रो लागि सर्वोपरि रहँदै आएको छ । यसै जननिर्देशको आलोकमा हामी सत्ता साझेदारी गरेका छौं । संघीयतालाई संस्थागत र मजबुत बनाउने कामसँगै संविधान संशोधनको अपरिहार्य रहेको जनादेशअनुरूप संघीय समाजवादी फोरम नेपालले अहिलेका सत्तारुढ राजनीतिक दलहरूसँग संविधान संशोधनको अनिवार्यताप्रति प्रतिबद्धता जनाउन लगाएको यहाँहरूलाई विदितै छ । यसका लागि प्रदेश नं. २ को सरकार समेत दत्तचित भएर संघीय सरकारमाथि दबाब बनाउँदै लगेको छ ।

तर, वर्षौंदेखिको राज्यको एकात्मक तथा केन्द्रीकृत शासन प्रणाली र तिनका अवशेषहरूका कारण संघीयताबाट अधिकारप्राप्तिको हाम्रो चाहना पूरा हुनु भनेजतिकै सजिलो छैन । विभिन्न बाधा र अड्चनहरू तेर्साएर संघीयतालाई नै विफल तुल्याउने पश्चगामी दुष्प्रयत्नहरू परम्परागत एवं अनुदार राजनीतिक वा गैरराजनीतिक शक्तिबाट भइरहेको छर्लङ छ । यस्तोमा बलियो संघीयता र दिगो समृद्धिका लागि निकै धैर्य, आँट र आत्मविश्वासका साथ अत्यन्त सतर्कतापूर्ण ढंगबाट अघि बढ्नुपर्नेछ । हामी संविधान संशोधनको मागमा राखेको ‘अर्जुन दृष्टि’ कुनै पनि कारणले धमिलिन सक्दैन । हामी हाम्रो राजनीतिक विश्वासबाट खुट्टा कमाउन सक्दैनौं । अन्तरमनको आवाज र समाजको आवश्यकताबाट डग्न सक्दैनौं । तर, हाम्रा इच्छा एवं आकांक्षालाई व्यवहारमा उतार्ने प्रयास जत्ति वेगवान् छन्, उत्तिकै चुनौती पनि थपिँदै गएका छन् । जसको सामना गर्न हामीले दृढ संकल्पका साथ राजनीतिक घटनाक्रमलाई आफ्नो पक्षमा मोड्ने प्रयत्न गर्नुपर्छ ।

बेलगाम बन्दुकको गोलीबाट जसरी निर्ममतापूर्वक व्यक्तिको ज्यान लिइन्छ । उस्तैगरी राज्यको नीतिगत विभेदबाट जनतालाई तेजोबध गरिन्छ । यो स्थिति देशमा मधेशी समुदायले भोग्नुपर्ने नियति बनेको छ । देशका मूलकानुनप्रति हाम्रो असन्तोष सकिएको छैन । देशको समृद्धि प्रयास असन्तुष्टि र विद्रोहको ज्वालाबीच कदापि सम्भव हुँदैन । त्यसैले जनआकांक्षाअनुरूप संविधान संशोधनको दायित्व पूरा गर्न देशका सबै राजनीतिक शक्तिहरू अघि सर्नुपर्छ । अहिलेको संविधानका अनुचित, अनुपयुक्त र मधेशविरोधी प्रावधानमा बृहत् संशोधन हुनुपर्छ । अनि मात्र संविधान प्राविधिक रूपमा मात्र नभएर भावनात्मक रूपमा सर्वस्वीकार्य हुन्छ । संविधान संशोधनकै बटम लाइनका आधारमा मधेशी जनताले हामीलाई प्रादेशिक शासनको नेतृत्व गर्ने र संघीय शासनमा सहभागी हुने जनादेश दिएको छ । हामी फगत शासन र शक्तिमा बस्ने लालसाले सरकारमा गएका होइनौं अपितु संविधान संशोधनमा देखिएका बाधाअड्चनलाई समाप्त गर्दै संविधान संशोधनको बाटो प्रशस्त गर्ने प्रयासलाई सफलीभूत बनाउने दिशामा समेत अग्रसर छौं ।

तथापि एउटा जनपक्षीय र जिम्मेवार राजनीतिक दलको हैसियतमा हामी जनताको असन्तुष्टि, असहमति र अस्वीकारोक्तिबाट आफ्नो राजनीतिक मार्ग निर्धारण गर्दै आएका छौं । अहिलेसम्म प्राप्त भएका राजनीतिक उपलब्धि रक्षा गर्ने र अन्य मागका लागि संघर्ष गर्ने प्रेरणा र बल जनताबाटै प्राप्त गरेका छौं । जनताकै रोडम्याप हाम्रो पहिलो निर्देशक दस्ताबेज हो । यसअर्थमा संविधान जारी भएको असोज ३ ले हामीलाई संविधान संशोधन गराउनैपर्ने विशाल जनमत बिर्सन दिँदैन । हामी असोज ३ का दिन गर्दैआएको हाम्रा संकल्प प्रतिबद्धता बिर्सैका पनि छैनौं । हामी हाम्रा तमाम ऊर्जालाई जनमैत्री संविधान बनाउन खर्चने प्रतिज्ञाका साथ अघि सार्ने दिनका रूपमा यसलाई मनाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।
तसर्थ, जनअपेक्षाअनुरूप देशको शासन प्रणालीमा मधेशको सहभागिता र निर्णायकत्व स्थापित गर्न संविधान संशोधनका लागि सबैखाले राजनीतिक, कार्यनीतिक र रणनीतिक बाटो अबलम्वन गर्ने प्रतिबद्धता दोहर्याउदै अात्मसमानको लडाईमा ज्यानको आहुतिदिने सबै महान मधेशी सहिदप्रति हार्दिक श्रद्धाण्जली ब्यक्त गर्न चाहन्छु । र तीप्रातःस्मरणीय शहिदहरुको बलिदानि खेर जाने छैन भन्ने अन्तरविश्वासलाई अझ मजबुत पार्न आग्रह गर्दछु । जय मधेश ।

शैलेन्द्र साह
कृषि मन्त्री प्रदेश नं. 2