तिहार आजबाट सुरु, पहिलो दिन काग पूजा गरिँदै

तिहार आजबाट सुरु, पहिलो दिन काग पूजा गरिँदै

सप्तरी, ३१ आश्विन । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मंगलबार(आज) बाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदैछ ।
तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । यस दिन कागलाई पूजा आजा गरी खान नदिइ आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।
वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । तिहारको दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन कात्तिक कृष्ण औंशीका दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल सम्वत्को नयाँ वर्ष ११३८ र म्हःपूजा अर्थात् आत्मपूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।
यसवर्ष कात्तिक ४ गते शनिबार मध्याह्न ११ बजेर ५१ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् ।